प्रदेश १ को नाम विराट राख्न माग

विराटनगर। प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समाज उत्थान समिति(विराट)ले माग गरेको छ ।

समितिको यही फागुन ६ गते हुने १५ औं बृहत भेलाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा समितिले विराट राजासँग जोडिएको विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकोले यस क्षेत्रको सामूहिक पहिचानको लागि प्रदेशको नाम विराट राखिनुपर्ने दावी गरेको छ । अन्यथा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गरिनुपर्नेमा जोड दिनुभयो ।

समितिले विराट राजवंशीलाई राज्यको हरेक अङ्गमा स्थान सुरक्षित गर्नु पर्ने, यस समुदायलाई विराटनगरको प्रथम जातीको रुपमा घोषणा गर्नुपर्ने, प्रदेशसभा सदस्यमा यस जातीलाई समानुपातिक रुपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा बुढीगंगा, धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने, समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गहरुमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने र विराटनगरको भेडियारीस्थित विराट दरवार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने लगायतका माग सङ्घीय र प्रदेश सरकारसँग राखिएको छ ।

कार्यक्रममा अध्यक्ष मण्डलले आफ्ना मागका सम्वन्धमा विगतमा जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत वुझाइएको भन्दै त्यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

यही फागुन ६ गते मोरङको जहदा गाउँपालिका–३ वभनटोलीमा हुने भेलामा मोरङ, सुनसरी र झापाका विराट राजवंशीको वृहत सहभागिता हुने बताइएको छ । विसं २०६८ को जनगणना अनुसार मोरङ, सुनसरी र झापामा यस समुदायको जनसङ्ख्या ४० हजार रहेको अध्यक्ष मण्डलले जानकारी दिनु भयो ।

Back to top button