तीन दिनको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका केही भू–भागमा हुस्सु लागेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोली देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Back to top button