भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसिसी संसदमा भोलि टेबल गराउने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी संसदमा टेबल गर्ने र त्यसका लागि अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले भन्नुभयो, ‘एमसिसी संसदमा पेश गर्ने निर्णय अघिल्लो सरकार (केपी ओली सरकार) को हो । त्यो निर्णयको स्वामित्व लिँदै अघि लागेर संसदबाट पारित गर्ने निर्णय भएको छ ।’

एमसिसी भोलि पेश गरेर पारित गर्ने वा टेबुल गर्ने भन्नेमा यकिन हुन सकेको छैन । तर सकेसम्म पेश गरेर पारित नै गराउने पक्षमा मत रहेको उहाँले बताउनुभयो । त्यसका लागि अरु दलसँग छलफल गर्ने पनि उहाँले बताउनुभएको छ ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि सबै दललाई आग्रह गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको छ । त्यसका लागि अरु दलसँग छलफल गर्ने कांग्रेसले जनाएको छ ।

Back to top button