अनुदान लिन्नँ भन्नु हास्यास्पद हुन्छ : सुजाता कोइराला

काठमाडौं । नेपाली का‌ंग्रेसकी नेतृ सुजाता कोइरालाले एमसिसी पास गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । उहाँले एमसिसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभएको हो ।

आज नयाँबानेश्वरस्थित संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अनुदान लिन्नँ भन्नु हास्यास्पद भएकाले अन्तरराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसिसी टेबुलबाट पास गर्नुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै एमसिसीलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताउनुभयो । ‘एमसिसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ। यो एउटा सहयोग हो। अनुदान लिन्नँ भन्दा राम्रो देखिँदैन।

अन्तरराष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ। विभिन्न देशसँग हाम्रो लामो समयदेखि सम्बन्ध छ‚ त्यो बिग्रिन्छ। त्यसले नेपाललाई धेरै नै क्षति पुर्‍याउँछ, उहाँले भन्नुभयो, अब यसलाई धेरै ढिलो गर्नुहुँदैन।

यसमै बहस गरेर बस्नु पनि हुँदैन। हामीले एउटा निर्णय लिइसकेका छौं। एमसिसी एउटा अनुदान हो र यसले नेपालका लागि दीर्घकालीन सहयोग पुर्‍याउँछ। कुनै पनि विकासको योजनालाई लिन्नँ भन्दा एकदमै हास्यास्पद हुने उहाँले बताउनुभयो ।

‘नेपाल जहिले पनि एउटा गरिब मुलुक भयो, एउटा यस्तो समुदाय छ। नेपालमा जसले विकास नै हुन दिँदैन। कुनै पनि ठूला योजना आउन दिँदैन। जहिले पनि यसलाई बिगार्ने षड्यन्त्र हुन्छ।

यो आयोजना हरेक पार्टीको प्रधानमन्त्रीले अघि बढाएको छ, उहाँले भन्नुभयो,‘हरेक पार्टी र त्यसबाट बनेका प्रधानमन्त्रीले यो लिन्नँ यो स्वीकार्य हुन्न भन्नु हुँदैन। उहाँहरूले यसमा सहयोग गर्नुपर्छ।

दोहोरो चरित्र देखाएर काम गर्नुभयो भने उहाँहरूको छवि बिग्रन्छ। यसले गर्दा अरू काम गर्न हामीलाई ढिला भएको छ। अब यसलाई धेरै ढिला नगरौँ, धेरै बहस गरेर समस्यालाई झनै बल्झाउन नथालौं।’

उहाँले एमसिसीलाई समयमै पारित गरेर चाँडो पास गरिकन समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।

Back to top button