नेपाल बन्दको प्रभाव आंशीक

विराटनगर । सरकारले काठमाडौं उपत्यकासहित देशभर सुरक्षा सतर्कता बढाएको छ। एमसिसी सम्झौता प्रतिनिधिसभामा पेश हुने सम्भावना रहेको परिवेशमा त्यसको विरोधमा रहेको दल तथा मोर्चाहरुले आज नेपाल बन्द घोषणा गरेका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो । बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन।

तर सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्। शहरका चोकचोकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले हिजो ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ ।

प्रदेश १ मा पनि बन्दको खासै प्रभाव देखिएको छैन । बिहानैदेखि सुरक्षाकर्मीहरु सडकमा परिचालन गरिएको छ । नेपाल प्रहरी सहित शसस्त्र प्रहरीलाई पनि राजमार्ग सुरक्षाका लागि परिचालन गरिएको छ ।

प्रदेश १ को राजधानी विराटनगरबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा छन् । यद्यपी विगतका तुलनामा सडकमा सञ्चालन हुने सवारी साधनमा भने कमि आएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शान्ती सुरक्षा कायम गर्न सवै प्रकारको तयारी गरिएको छ । यसैबिच शिक्षण संस्थामा र उद्योग धन्दामा भने बन्दको प्रभाव परेको छ । आज शहरी क्षेत्रका अधिकांश विद्यालय बन्द गरिएको छ ।

Back to top button