सामूहिक बलत्कारमा सम्लग्न तीन जना कारागार चलान

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा गत माघ ७ गते राति महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न तीन जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत मोरङले आज तनहुँको व्यास नगरपालिका–१४ घर भई मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा बस्दै आएका ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाइ (जेठी आमातिरका छोरा) गोर्खाको सहिद लखन गाउँपालिका–५ घर भई सुन्दरहरैंचा–५ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश शिशिरराज ढकालको इजलासले आदेश दिएपछि तीनै जनालाई कारागार चलान गरिएको छ । पछि ठहरेबमोजिम हुनेगरी तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई इजलासले थुनामा पठाएको बुढाथोकीले बताउनुभयो ।

सुनसरीको इटहरीबाट बहिनीको घर फर्कदै गरेकी बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलालाई नियन्त्रणमा लिएर होटल पुर्‍याउँदै रातभर कोठामा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको थियो । बहिनीको घर जाने बाटो बिर्सिएपछि सोधीखोजी गर्दा गछिया नजिकबाट प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर अपहरण शैलीमा महिलालाई होटल पु¥याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार महिलामाथि होटल सञ्चालक सुन्दरहरैँचा नगरपालिका–४ का अर्जुन भनिने हिमबहादुर श्रेष्ठ, उनका भाइ सुरज र झापाको मेचीनगर नगरपालिका–३ का रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीले पालैपालो बलात्कार गरेका हुन् । बलात्कारमा संलग्नले हात हालेर महिलाको यौनाङ्ग क्षतविक्षत बनाइदिएका थिए । अत्यधिक रक्तश्रावका कारण अवस्था गम्भीर बनेकी महिलाको सुरुवाती उपचार विराटनगरस्थित कोसी अस्पतालमा गराएको थियो ।

Back to top button