झापा गोल्डकपको तयारी तिब्र, मस्कट, गीत र नारा सार्वजनिक

बिर्तामोड । झापा गोल्डकपको पाचौँ संस्करणको मस्कट, गीत र नारा सार्वजनिक गरिएको छ। झापा गोल्डकप मूल आयोजक समितिले आज बिर्तामोडस्थित सचिवालयमा पत्रकार सम्मेलन गर्दै मस्कट, गीत र नारा सार्वजनिक गरेको हो।

गोल्डकप यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने छ । गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो ।

झापाको भूगोल र यहाँका फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल खेलको हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको उहाँको भनाइ छ । गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको संगीत रहेको छ।

यस्तै‚ डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाको स्वर रहेको छ। गोल्डकपको औपचारिक मस्कटका रुपमा हात्तीको छावा राखिएको छ। मस्कटमा छावाले फुटबल हान्दै गरेको राखिएको छ। मस्कटको निर्माण कलाकार पवन राजवंशीले गर्नुभएको हो ।

यो वर्षको झापा गोल्डकपको नारा ‘डोमालाल राजवंशी रंगशालाको संरक्षण, झापा गोल्ड कप झापालीको पहिचान’ तय गरिएको छ। झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ नारा तय गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

गोल्डकप नजिकिएसँगै डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत कार्य सुरु गरिएको छ। रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्याराफिट निर्माण गरिने बताइएको छ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ। गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।

Back to top button