सुनसरीको धरानमा शवका टुक्रासहितको झोला आजपनि फेला

धरान । सुनसरीको धरान– ४ स्थित धरान– भेडेटार सडक खण्डको जङ्गलमा आज पनि मानिसको एउटा हात जेब्रा झोला भित्रबाट बाहिर देखिने गरी अर्को झोला फेला परेको छ ।

हिजो दिउँसो सोहि सडक खण्डको आँपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए ।

घटना स्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोला भित्र टाउको र खुट्टा फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले बताउनुभयो ।

आज हिजोको घटनास्थलबाट करिब १ किलो मिटर माथि धरान भेडेटार सडक खण्डबाट करिब ३० मिटर भित्र खर्दु सामुदायिक वनको धर्रधरे जंगलमा अर्को झोलामा मानिसको हात नै बाहिर देखिने गरी अर्को जेब्रा झोला फेला परेको छ ।

हिजो टाउको र दाहिने खुट्टा फेला परेको शवको पुरै शरीर फेला परेको थिएन । आज त्यहि शरिरको अरु अङ्ग भएको हुनसक्ने उपरीक्षक दाहालले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान सुरु गरेको एसपी दाहालले बताउनुभयो ।

हिजो भेटिएको टाउको र खुट्टाको पुरै बडी फेला परेको थिएन । तर टाउको फेला परेको आधारमा आर्य समुदायको पुरुष जस्तो देखिने प्रहरीले बताएको छ ।

मानिसको हत्या गरेर शरीरलाई टुक्रा टुक्रा पारेर अलग–अलग स्थानमा छर्नुले ‘प्रोफेशनल मडर’ हुन सक्ने बताइएको छ । अहिले सम्म हिजो भेटिएको टाउको र खुट्टाको सनाखत हुन सकेको छैन ।

प्रहरीले कोही मानिस घरबाट सम्पर्क बाहिर रहेको बारेमा सोधी खोजी सुरु गरेको जनाएको छ ।

Back to top button