एमसिसी पास फेल जे पनि हुनसक्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनुभएको छ ।

यद्यपि आफू एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’

उहाँले एमसीसी राष्ट्रको हितमा भएको समेत दावी गर्नुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन’, महामन्त्री थापाले भन्नुभयो,‘निर्वाचनको क्षण, लाभ र हानी सबै कुरालाई बिर्सेर भएपनि पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ ।’

Back to top button