निर्वाचन आयोगमा थपिए ३ दल, १ सय ६ पुग्यो दलको संख्या

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप ३ वटा दल दर्ता भएका छन् । यो सँगै आयोगमा दर्ता भएको दलको संख्या १ सय ६ पुगेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएको जानकारी दिनुभयो ।

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । दल दर्ताका लागि फागुन १५ गते सम्मको समय तोकिएको छ । त्यसैले दलको संख्या अझै बढ्ने सम्भावना रहेको छ ।

आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी पालिकास्तरमा कार्यरत कर्मचारीलाई सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने व्यवस्था गरेको छ ।

Back to top button