एमसिसीको बिषयमा छलफल गर्न सत्ता गठबन्धनका दलको बैठक पुनः बस्दै

काठमाडौं । एमसीसी संसदमा दर्ता गर्ने कि नगर्ने भन्ने विवाद पेचिलो बनेका बेला सत्ता गठबन्धनका नेताहरुको बैठक आज विहान १० बजे पुन बस्ने भएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्ने र नगर्ने विषयमा निर्णय हुनेछ । त्यो सँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ हुने देखिएको छ । यसअघि, हिजो साँझ बसेको बैठक पनि निर्णायक भनिएपनि निष्कर्षहिन हुँदै आज बैठक बस्न लागेको हो ।

हिजोको बैठकमा सत्तागठबन्धनका दलहरुले आ–आफ्नै अडान नछोड्दा निष्कर्षहिन बन्न पुगेको हो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

जवाफमा नेकपा माओवादी केन्द्रका नेताहरूले पहिले संसद् विना अवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसिसी टेबल हुन नसक्ने माओवादीको अडान छ ।

नेकपा एकीकृत समाजवादीका नेताले भने शनिबारसम्म कुर्न आग्रह गरेका थिए । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकले एमसीसीका विषयमा धारणा तय गर्ने बताइएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसिसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ । बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।

Back to top button