गठबन्धन टुट्नु अनिवार्य छः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारूढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको जिकिर गर्नुभयो ।

गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धाराअनुसार एमालेको भूमिका कहाँ हुन्छ सोहीअनुसार भूमिका निर्वाह गरिने उहाँले बताउनुभयो ।

अहिले एमालेको प्राथमिकता चुनाव हो भन्दै उहाँले वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकतामा रहेको बताउनुभयो ।

‘यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन,’ उहाँले भन्नुभयो‘यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ।’

उहाँले एमसिसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताउनुभयो । एमालेको मागअनुसार १४ जना सांसदहरूलाई कारबाही गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Back to top button