फिलिपिन्स विरुद्ध नेपालको शानदार जीत

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्न पुग्यो । रनको हिसाबले नेपालको यो तेस्रो ठूलो जीत हो । फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले सर्वाधिक २० रन बनाए ।

यस्तै, जोर्डन अलेग्राले १८ कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको राम्रो प्रदर्शन रहन सकेन । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । सन्दीपले चार ओभर मात्र नौ रन खर्चिए । यसबाहेक गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए ।

पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्‍याए ।

दीपेन्द्रले ४७ बलमा छ चौका र चार छक्काको मद्दतले ८३ रन बनाए भने कुशलले नटआउट रहँदै ६१ बलमा १०४ रन बनाए । यस क्रममा उनले १३ चौका र १ छक्का हिर्काए । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउने छन् ।

सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । यसअघि नेपाल सन् २०१४ मा ट्वान्टी २० विश्वकप पुगेको थियो ।

Back to top button