प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचिमा छैन एमसिसी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता टेबल गर्ने चर्चा छ। तर संसद् सचिवालयले हिजो साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसिसी उल्लेख गरिएको छैन ।

यस अघि गत शुक्रबार बसेको बैठकमा पनि एमसिसी पेश गर्ने भनिए पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा टेबल हुन सकेन। आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।

सत्ता गठबन्धनमा सहमति नहुँदा एमसिसी टेबल हुन सकेको छैन। सरकार फागुन १६ गतेभित्र एमसिसीलाई टुङ्गो लगाउनैपर्ने दबाबमा छ। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।

Back to top button