सत्ता गठबन्धनको बैठक आजपनि बस्दै, एमसिसीको बिषयमा नै केन्द्रित हुने

काठमाडौं । एमसिसीको बिषयलाई लिएर सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

एमसिसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक–पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आजको बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। यसअघि बुधबार र शुक्रबार एमसिसीकै बषियमा गठबन्धनका शिर्ष नेताहरुको बैठक भएका थिए ।

यद्यपी निष्कर्षमा पुग्न सकेको छैन । एमसिसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसिसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गर्न दिने निष्कर्ष निकालेको छ ।

जसपाले ठोस निर्णय लिन सकेको छैन। अध्यक्ष यादव माओवादीलगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

एमसिसीले दिएको समयसीमा फागुन १६ गते नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट पारित गराउन तीव्र दबाबमा हुनुहुन्छ । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उहाँले गृहकार्य गरिरहनुभएको छ ।

Back to top button