मोटरसाइकल दुर्घटनामा एक इन्जिनियरको मृत्यु

खोटाङ । रावाबेसी गाउँपालिकामा कार्यरत इन्जिनियर दीपक ढुंगानाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका ३१ वर्षीय ढुंगानालाई उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका ढुंगानाको एक विवाहमा सहभागी भई फर्कने क्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाइकलमा माक्पा फेदी सडक खण्डमा गएराति दुर्घटना भएको थियो।

मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। टाउको र छातीमा गहिरो चोट लागेको ढुंगानाको स्वास्थ्य चौकी माक्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं लगिएको थियो।

उहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार पुग्दा राति करिब साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो। ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको मोटरसाइकलको पछाडि ढुंगाना बस्नुभएको थियो ।

चालक गुरुङलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर महानगरपालिका–६ का ढुंगाना दुई महिनाअघि रावाबेसी गाउँपालिकामा आउनुभएको थियो ।

Back to top button