प्रदेश १ को हिउँदे अधिवेशन फागुन १५ गते बस्ने

विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन फागुन १५ गते बस्ने भएको छ। विराटनगरस्थित प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नवौं हिउँदे अधिवेशनको सातौं बैठक फागुन १५ गते दिउँसो १ बजे आह्वान गरिएको जानकारी दिनुभयो ।

गत मंसिर १ गते स्थगित बैठक करिब ३ महिनापछि बस्न लागेको हो। सचिव पराजुलीका अनुसार त्यस दिन बिहान कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरी प्रदेशसभामा छलफल अघि बढाइनेछ।

उक्त अधिवेशनमा विभिन्न तीन विधेयकको विषयमा समेत छलफल हुने उहाँको भनाइ छ। जसमा प्रदेश सरकार आर्थिक तथा वित्तीय कार्यविधि, प्रदेश सरकार ऐन संशोधन विधेयक, प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अघिवेशनमा प्रदेशको नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताउनुभयो । प्रदेशको नामको विषयमा सदनमा पनि घनीभूत छलफल हुने उहाँको भनाइ छ ।

मन्त्री कार्कीले पुराना बिजनेसलाई पूरा गर्ने र प्रदेशकै नाम सहमतिबाट टुंग्याइनेतर्फ सबैको ध्यान केन्द्रित हुने प्रस्टाउनुभयो । प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न स्वास्थ्यमन्त्री जयराम यादवलाई प्रदेश सरकारले जिम्मेवारी दिएको छ।

सोहीअनुसार भोलि गठबन्धन सरकारसँगै प्रमुख प्रतिपक्षी दल, विभिन्न राजनीतिक दलका प्रदेश अध्यक्ष तथा सभापतिसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ।

Back to top button