गृहमन्त्रीलाई एमाले अध्यक्ष ओलीको फोन…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर नयाँबानेश्वर क्षेत्रमा प्रहरीमाथि सत्ताधारी दलकै कार्यकर्ताबाट भएको आक्रमणबारे प्रश्न गर्नुभएको छ ।

संसदमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्न सहमति जनाएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र इँटा बर्साएर आक्रमण गरेको घटनामा अध्यक्ष ओलीले फोन गरेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्नुभएको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराउनु भएको हो । गृहमन्त्रीलाई मैले भनेँ, ‘तपाई किन पुलिस सडकमा पठाउनु हुन्छ ? सत्ताधारीले नै मान्छेलाई ढुंगा हान्न पठाएका छन् ।

कति खर्चमा बनाएका बाटाहरु सरकारमा हुने क्रान्तिकारीहरुले भत्काइरहेका छन् । बाटो बनाउनुपर्ने ठाउँमा बजेट काट्ने र भत्काउने काम भएको छ’, ओलीले भन्नुभएको छ ।

अध्यक्ष ओलीले प्रदर्शनकारीबाट प्रहरी कुटिँदा पनि त्यसको प्रतिरक्षा गर्न किन आदेश नदिएको भनेर आफूले गृहमन्त्रीलाई प्रश्न गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रहरी कुटाइ खाएर भागेको छ । २५ जना मान्छेले ढुंगा हानेको छ । डेढ सय प्रहरी पछाडि भाग्दै छ । केही पनि आदेश हुँदैन ।’

एकथरीले सडकमा केहि नगर्न आदेश दिने अर्को थरीले तिनै प्रहरीमाथि आक्रमण गर्छ भन्दै उहाँले एमसीसी पास गर्न आफैं सही गर्ने, टेबल गर्ने अनि सडकमा खुब क्रान्तिकारी भएर कार्यकर्ता उतार्ने ? प्रहरी कुट्ने ? भन्दै असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।

Back to top button