सुन तस्करीमा संलग्न २ विदेशी पक्राउ

काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्ने २ विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

दुबईबाट नेपाल हुँदै झण्डै १ किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा हिजो हिमालय एयरलायन्सको उडान नम्बर एच ९५६६ द्वारा दुबईबाट काठमाडौं आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको १ थान अर्धठोस् सुन बरामद गरेको हो ।

यस्तै उल्लाहले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको २ थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन झण्डै एक किलो (९३६ ग्राम) रहेको पाइएको छ ।

उपरीक्षक ढकालका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि पारसनाथलाई पनि पक्राउ गरिएको छ ।

यस्तै,अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा पारसनाथकोसमेत संलग्नता देखिन आएकाले दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

Back to top button