स्यालको टोकाइबाट १२ जना घाइते

सर्लाही । विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । आज बिहान जंगलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो।

घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने ३ जनाको प्रादेशिक अस्पाताल मलंगवामानै उपचार भइरहेको छ। स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरुलाई काठमाडौं पठाइएको प्रादेशिक अस्पताल मलंगवाका डा. गौतम झाले जानकारी दिनुभयो ।

स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ कामाडौंमा मात्र पाइने भएकाले घाइतेलाई यहाँबाट काठमाडौं पठाउनु परेको उहाँले बताउनुभयो । भारतीय सीमावर्ती विष्णु गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतंकित बनेका छन्।

स्यालको टोकाइबाट विष्णु–४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधर, ७२ वर्षीय शंकर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जना कुमारी साह उहाँका ५ वर्षीय छोरा अनमोल साह घाइते हुनुभएको छ । भने त्यस्तै विष्णु–२ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव, ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कतिपय घाइतेहरु अझै अस्पतालमा आइनपुगेको प्रहरीको भनाइ छ। स्यालले पशु चौपायालाई समेत टोकेर घाइते भएको स्थानीयवासीले जनाएका छन्।

 

Back to top button