राष्ट्रिय झण्डा ओढाएर संस्कृतिमन्त्री आलेद्धारा गायक लामालाई श्रद्धाञ्जली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

आज मन्त्री आलेले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखिएको लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको हो । ​यस्तै‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि नाचघर पुगेर लामाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

मन्त्री आलेले कलाकार राष्ट्रका गहना भएको बताउदै देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको बताउनुभयो ।

देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिनुभएको हो उहाँले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गर्नुभयो।

हिजो निधन भएको लामाको आज स्वयम्भुमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो।

Back to top button