एमसिसीको बिषयमा जसपा निर्णायक छलफलमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा दुई धारमा बाँडिएको जनता समाजवादी पार्टी (जसपा)को आज निर्णायक छलफल हुने भएको छ । हिजोदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको हो ।

बैठकमा एमसीसीको विषयमा गम्भीर रुपमा छलफल हुने नेताहरुले बताएका छन् । जसपाका नेता ईस्तियाक राईले हिजोको बैठकमा अमेरिकासँग भएको एमसीसीको सम्झौतापत्र अध्ययनका वितरण गरिएको र त्यो सम्झौतापत्रका सन्दर्भमा आज नेताहरुले धारणा राख्ने बताउनुभएको छ ।

नेताहरुको धारणापछि पार्टीले आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो । जसपामा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा हुनुहुन्छ भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षमा हुनुहुन्छ । पार्टीभित्र बढ्दो विवादका बीच जसपाले एमसीसीमा कस्तो निर्णय लिन्छ भन्नेमा चासोका साथ हेरिएको छ ।

सुरुदेखि नै यादव र भट्टराईबीचको विवादले फुट उन्मुख रहेको पार्टीमा एमसीसीले थप जटिलता उत्पन्न गरेको नेताहरुको भनाइ छ । बैठकको पहिलो दिन हिजो १२ वटा एजेण्डा प्रस्तुत भएका छन् ।

स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा प्रस्तुत गरिएको छ ।

Back to top button