कांग्रेस र एमालेबिच आज पनि छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच आज पनि वार्ता हुने भएको छ । आज दिउँसो दुई दलबीच वार्ता हुने तयारी छ ।

एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आउनुभएको छ ।

सत्ता गठबन्धनमा एमसीसीको विषयमा खटपट भएपछि देउवा प्रमुख प्रतिपक्ष एमालेसँग निरन्तर वार्तामा हुनुहुन्छ । हिजो साँझ भएको दुई दलबिचको वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो ।

एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा कांग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको प्रतिकृया दिनुभएको छ ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गर्नुभएको बताउनुभएको छ । यद्यपी कांग्रेसका तर्फबाट सहमतिका लागि ठोस प्रस्ताव भने नआएको उहाँले बताउनुभयो ।

Back to top button