‘प्रचण्ड र माकुने’को प्रतिनिधित्व नेपाल बारले गरेको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अस्तव्‍यस्तता मच्याउने प्रतिनिधित्व नेपाल बारले गरेको आरोप लगाउनुभएको छ ।

एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी समस्या खडा गर्दैनौँ। समाधान गछौँ। तर, अस्तव्‍यस्तता मच्चाउने प्रचण्ड र माकुनेको प्रतिनिधित्व बारले गरेको छ। कांग्रेस, माओवादी, माकुनेतिर लाग्नुभयो भने दलीयताको आरोप लाग्दैन। तपाईहरु समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्नुभयो। दलीयताको आरोप बारले लगाउँछ।’

एमाले न्याय क्षेत्रलाई स्वतन्त्र र निष्पक्षतालाई राष्ट्रियताको निम्ति संविधानअनुसार स्पष्ट व्यवस्था गरेअनुसार चल्नुपर्छ भन्ने पक्षमा रहेको पनि प्रष्ट पार्नुभयो । सत्ता गठबन्धनले ल्याएको प्रधानन्यायाधीश विरुद्धको महाभियोगबारे उहाँले भन्नुभयो, ‘बेला न कुबेला। प्रधानन्यायाधीशमाथि ल्याएको महाभियोग हामीले बुझेका छैनौँ। अहिले महाभियोग पेश भएका चोलेन्द्रविरुद्धको महाभियोग कुनै हालतमा निर्णयार्थ पेश नै हुँदैन। त्यो न्याय क्षेत्रलाई भताभुंग पार्नका लागि मात्रै त्यो दर्ता गराएका हुन्।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चर्को आक्रोश पोख्नुभयो। ‘प्रचण्डले एकलौटी हस्ताक्षर गरेर पठाएका सूचना टाँस हुन्छ। तर, हामीले पार्टीगत रूपमा निर्णय गरेर पठाएको कारबाहीको सभामुखबाट सूचना टाँस हुँदैन’ उहाँले भन्नुभयो। स्थानीय तहको निर्वाचन जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाभन्दा अगाडि हुनुपर्ने स्पष्ट लेखिएको बताउनुभयो।

‘निर्वाचन नै नहुन सक्छ। अदालतको आडमा मुलुकमा अस्थिरता ल्याउन खोजिरहेको छौँ। हामी निर्वाचन नभए चुप बस्न सक्दैनौँ। निर्वाचन गराउन नसक्ने सरकार काम छैन। चुनाव गराउन नसके हामी निर्णायक कदम चाल्छौँ’ ओलीको भनाइ छ।

‘पाँच जनाको बेन्च बन्छ, दुई जनाले अरू दुईजना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौँ भन्छन्। उहाँहरूले आदेश लेख्नुहुन्छ‘ ओलीले भन्नुभयो, ‘अमेरिकाबाट पठाएको इमेल पढेका साथीहरू यहाँ छैनन् होला। तर, राम्ररी जानकारी राख्ने साथीहरू छन्।’ सबै न्यायाधीशले असार २८ को फैसला सेटिङमा आएको दाबी गर्दै मुलुकको राष्ट्रिय राजनीतिलाई परमादेशी र जनादेशी राजनीतिमा विभाजित गरेको उहाँको भनाइ छ।

Back to top button