अभिनेता पलबारे सोधपुछका लागि निर्देशक थापालाई लगियो प्रहरी कार्यालय

काठमाडौं । नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ ।

निर्देशक नारायण पुरीले दिएको जानकारी अनुसार प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापाले प्रहरीले सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगेको हो ।

निर्देशक थापा चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हो । थापालाई टेलिभिजनको कार्यालयमा नै पुगेर प्रहरीले लगेका छन् ।

प्रहरीले पनि थापालाई पल शाहका विषयमा सामान्य सोधपुछका लागि लगिएको जानकारी दिएको छ । शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उहाँविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।

पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उहाँबारे अनुसन्धान गरिरहेका छन् ।

Back to top button