ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन्: नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाउनुभएको छ ।

पार्टी समर्थित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको आज काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा नेता नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डो प्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको बताउनुभएको हो ।

ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिका गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको उहाँले बताउनुभयो ।

नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो। फेरि ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने उहाँको आरोप छ । उहाँले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञासमेत दिनुभयो।

ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ। कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, पूर्वाग्रहपूर्ण सर्त राखेर। कस्तो सर्त भन्दा सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ। माधव नेपालसहितका १४ जनालाई सिध्याइदिनुपर्छ, मुन्ट्याएर निकालिदिनुपर्छ। कस्तो अपराधपूर्ण चिन्तन?’, अध्यक्ष नेपालले भन्नुभयो, ‘अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानीमुनि लुकेर बसेका छन् भने पनि सिध्याउँछु भनेर कराउँछन्।

यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए घाँडो भइदिए। यस्ता घाँडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढ्न सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ। नेपाललाई सुरक्षित राख्ने हो भने नेपालको राजनीतिलाई सही दिशामा लिएर जाने हो भने यस्ता तत्वहरुबाट होसियार रहनुपर्छ।’

उहाँले आफूहरु देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित भएर लागिपरेको भन्दै प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने बताउनुभयो । ‘यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्वलाई हामी पराजित गर्न चाहन्छौं’, उहाँले भन्नुभयो, ‘एमसिसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन्रु जनताले चिनिसकेका छन्।’

अध्यक्ष नेपालले एकीकृत समाजवादीले एमसिसीलाई यथास्थितिमा पास गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले यथास्थितिमा एमसिसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटक–पटक दोहोर्‍याईरहनुभएको थियो ।

ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले नेपाललाई इण्डो प्यासेफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आएपछि नेपाल त्यसको अंग बनेको र श्रीलंकाको नाम काटिएको उहाँको भनाइ छ।

Back to top button