एमसिसी पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्छः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसिसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदबाट एमसिसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न चेतावनी दिनुभएको हो ।

एमसिसी सहमतिबाट पछाडि हट्दाखेरि ठूलो संकट आइपर्ने भन्दै नेता भट्टराईले त्यसलाई स्पष्ट बहुमतले पारित गर्नुपर्ने बताउनुभयो ।

सरकारमा बसेर बाहिर–बाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने उहाँले बताउनुभयो ।

उहाँले एमसिसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औँल्याउनुभयो ।

एमसिसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागिपरेको उहाँको भनाई छ ।

Back to top button