विराटनगरका मेयरले अरुको कामलाई आफूले गरेको भन्दै भ्रममात्र छर्दैछन्ः विनोद ढकाल

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज विनोद ढकालले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अरुले गरेका कामलाई आफूले गरेको भन्दै जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ ।

आज नेकपा एमाले विराटनगर– ५ को पार्टी कार्यालय उद्घाटन तथा टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मेयर पराजुलीले एमाले नेतृत्वको सरकारले गरेको विकास निर्माणको कामलाई आफूले गरेको भन्दै हिड्ने गरेको बताउनुभयो ।

नेता ढकालले विराटनगर महानगरले यहाँको विकाससम्बन्धि कुनै ठोस योजना ल्याउन नसकेको भन्दै मात्र एमाले नेतृत्वको संघीय र प्रदेश सरकारले गरेको विकास निर्माणका कामलाई भजाउन व्यस्त रहेको बताउनुभयो ।

जनताका पक्षमा एमाले सरकारले गरेको कामले गर्दा विपक्षीहरु आत्तिएर सरकार ढालेको आरोप भन्दै उहाँले स्थानीय तहको निर्वाचन पनि एमालेकै दवावका कारण घोषणा भएको बताउनुभयो ।

विराटनगर महानगरमा कांग्रेसको नेतृत्व पूर्णरुपमा असफल भएको भन्दै अबको स्थानीय तहको निर्वाचनमा यहाँका जनताले सबै वडामा एमालेका उम्मेदवारलाई जिताउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाले एमालेले अहिलेसम्म विकासमा खबरदारी गरिरहेको र अब भने विकासको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

उहाँले योजनाहरु जथाभावी रुपमा थोपरिएको र त्यसको भुक्तानी समेत गर्न महानगर कार्यपालिकाले नसकेको उहाँले बताउनुभयो ।

झण्डै ५ वर्षसम्म नेतृत्व गरिरहँदा अहिलेसम्म महानगरले देखाउन लायक विकास केहि गर्न नसकेको भन्दै उहाँले मेयर पराजुलीले लाज पचाएर संघीय सरकारले बनाएको सडक, प्रदेश सरकारले बनाएको शहीद रंगाशालाको फ्लड लाइट र एडीभीले बनाएको सडक देखाउने गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा एमाले मोरङ सचिव रुपेश खतिवडाले एमालेको नेतृत्व रहेको वडाको विकास उच्च रहेको भन्दै अब आगामी निर्वाचनबाट एमाले महानगरको नेतृत्वमा आएपछि व्यवस्थित र तीव्र रुपमा विकास हुने बताउनुभयो ।महानगरबासीको विकासको आकांक्षा पूरा गर्न पनि एमालेको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा एमाले विराटनगर ५ नम्बर वडा कमिटीले अहिलेसम्म १२ वटा टोल कमिटी गठन गरिसकेको छ । थप तीन वटा टोल कमिटी गठन गरिने एमाले महानगर कमिटी सचिवालय सदस्य बलराम गिरीले बताउनुभयो । विराटनगर– ५ पृथ्वी चोक नजिक एमाले वडा पार्टी कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको हो ।

Back to top button