प्रचण्ड र माधव नेपालले एमसिसी पास गर्न वचन दिएको एमाले अध्यक्ष ओलीको दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसिसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको बताउनुभएको छ ।

हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसिसी पास गर्ने वचन दिएको ओलीले बताउनुभयो ।

आज काठमाडौंमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले एमसिसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको टिप्पणी गर्नुभयो ।

तर प्रधानमन्त्री देउवाले भने एमसिसी पास गर्न इमान्दार हुन दाहाल–नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो। अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने दोहोर्‍याउनुभयो ।

उहाँले गैरसांसदहरुलाई संसदमा राखेर सभामुख अग्नीप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरुले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने बताउनुभयो ।

कांग्रेसले एमसिसीका बिषयमा आफुहरुसँग छलफल गर्दा प्रचण्ड नेपालको गठबन्धन टुट्ने भो भनेर सातो गएको भन्दै उहाँले भन्नुभयो,‘हिजो बिहान प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवा कहाँ गएर भन्नु भो–हामी एमसीसी पास गर्छौँ, गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफालिदिनुस् प्रभू ।’

प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौ, इमान्दार रहेछौ भने ठीक छ भनेर फिर्ता पठाइदिएपछि गएको राति उहाँहरु आधा–आधा मात्रै सुतेको भन्दै आलोचना गर्नुभयो ।

नेकपा एमाले भने त्यसरी नचल्ने भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘राष्ट्रिय हित, जनता र देशको हित, देशको विकास, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका तमाम कुराहरुलाई हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यो मात्रै गर्छ।’

Back to top button