बेलारुसमा वार्ता गर्ने रुसको प्रस्तावलाई युक्रेनले गर्यो अस्वीकार

काठमाडौं । बेलारुसको भूमिमा रुससँग वार्ता गर्न युक्रेनले अस्वीकार गरेको छ।

रुसले वार्ता टोली बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्तावलाई अस्वीकार गर्नुभएको छ ।

रुसले आफूहरुमाथि आक्रमणका लागि बेलारुसको भूमि प्रयोग नगरेको भए मिन्स्कमा वार्ता गर्न आफूहरुलाई समस्या नहुने तर अहिले त्यस्तो अवस्था नरहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। युक्रेनको विदेश मन्त्रालयले रुसले बेलारुसबाट राजधानी किएभलाई निशाना बनाएर प्रहार गरेको मिसाइल खसालेको आज बताएको छ।

बेलारुसमा वार्ताका लागि अस्वीकार गरे पनि जेलेन्स्कीले अरु स्थानमा वार्ताका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यदि त्यो भूमिबाट हामीविरुद्ध आक्रमण नभएको भए मिन्स्कमा वार्ता गर्न हामीलाई समस्या हुने थिएन। वार्ताका लागि अरु सहर प्रयोग गर्न सकिन्छ।’ ‘पक्कै पनि हामी शान्ति चाहन्छौँ, हामी वार्ता चाहन्छौँ, यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ। वार्ताका लागि हामीले वार्स, ब्राटिस्लाभा, बुड्डापेस्ट, स्तानबुल, बाकुसहितका सहर प्रस्ताव गरेका थियौँ’, उहाँले भन्नुभयो ।

यस्तै,मिन्स्कबाहेकका सहर आफूहरुका लागि उपयुक्त हुने जेलेन्स्कीले बताउनुभयो। वार्ताका लागि आफ्नो देशमा मिसाइल आक्रमण गर्न प्रयोग नभएको देशको सहर चाहिने उहाँको भनाइ छ। त्यसपछि मात्रै वार्ता सही रुपमा अघि बढ्न सक्ने र युद्ध अन्त्य हुने उहाँले बताउनुभयो ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘रुसी युद्ध अपराधी’ सँग लड्नका लागि विदेशी योद्धाहरुलाई युक्रेन आउन पनि अपिल गर्नुभएको छ । त्यसका लागि ‘फरेन लिजन’ खडा गरिएको उहाँले उल्लेख गर्नुभएको छ । युक्रेनीसँग हातमा हात मिलाएर रुसविरुद्ध लड्नका लागि विदेशी स्वयंसेवीलाई जेलेन्स्कीले आग्रह गर्नुभएको हो ।

Back to top button