रिटर्नी फेडेरेसन नेपालको संगठन विस्तार तिव्र गतिमा, मोरङको भेला भोली हुने

विराटनगर । विदेशबाट फर्किएका नेकपा एमाले सम्बद्ध कार्यकर्ताहरुलाई संगठित गरेर उनीहरुको ज्ञान, सीप, पुँजी र अनुभवलाई समृद्धिको अभियानमा जोड्ने उद्देश्यले नेकपा (एमाले) ले स्थापना गरेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ ।

गत पौष १६ मा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिटर्नीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै संगठनको घोषणा गरेसँगै फेडेरेसनले आधारभुत सांगठानिक तथा प्रशाशनिक कार्यहरु पुरा गरि जिल्ला र पालिका भेलाहरु गर्दै संगठन विस्तारलाई तिव्रता दिँदै आएको छ ।

२२ माघमा झापामा पहिलो जिल्ला भेला गरेको फेडेरेसनले सर्लाही, सिन्धुली, ओखलढुङ्गा, बारा, उदयपुर, मकवानपुर र चितवन जिल्ला भेला सम्पन्न गरी जिल्ला कमिटीहरु गठन गरिसकेको छ ।

यस्तै सुनसरी, ईलाम, पाँचथर, भोजपुर, नवलपुर, ताप्लेजुङ, ललितपुर, मोरङ जिल्लाका मिति तय भइसकेका छन् । पहिलो जिल्ला भेला सम्पन्न भएको प्रदेश नं. १ मा सबै भन्दा बढि जिल्ला भेला तयारी भएका छन् । प्रदेश १ को राजधानी रहेको मोरङको जिल्ला भेला भने भोली हुने भएको छ ।

मोरङको जिल्ला भेला प्रदेश राजधानी विराटनगरमा भोली हुने फेडेरेसनका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज टेकनाथ ‘टि एन’ बरालले बताउनुभयो । उहाँका अनुशार मोरङका सबै १७ पालिकाको प्रतिनिधित्व हुने र जिल्ला भेलाबाट जिल्ला तदर्थ समिति गठन हुने छ ।

प्रदेश जिल्ला भेलाहरुको तयारी तथा आवाश्यक समन्वयको लागि फेडेरेसनका उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज बिनोद भट्टराई, उपमहासचिव जे.पी. सापकोटा, सचिव तथा प्रदेश सह–ईन्चार्ज भरत शिवाकोटीसहित केन्द्रीय सदस्यहरुको टीम क्रियाशिल छ ।

पहिलो चरणमा जिल्ला भेलाहरु सम्पन्न गरे पछि सदस्यहरुलाई प्रशिक्षण, सचेतना तथा उद्यमशिलता उन्मुख कार्यक्रमहरु सञ्चालन गर्ने र चुनावी अभियानमा समेत सक्रिय हुने उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

Back to top button