सबै पालिकामा चुनाव जित्ने आधार बनाउँदै एमाले मोरङ

विराटनगर ।नेकपा एमाले मोरङले स्थानीय तहको निर्वाचन घोषणा भएपछि तयारीलाई तीव्रता दिएको छ । एमाले मोरङले जिल्लाका सबै वडामा जित सुनिश्चित गर्न सुरु गरेको तीन महिने कार्यक्रम अन्र्तगत मेरो वडा म जिताउँछु अभियानको पछिल्लो प्रगतिका विषयमा आज सबै पालिकाका अध्यक्ष तथा सचिवसँग छलफल गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा मोङका १७ वटै स्थानीय तहका अध्यक्ष र सचिवको सहभागिता थियो ।

अभियान अहिले तीव्र गतिमा अघि बढिरहेको भन्दै एमाले मोरङ सचिव रुपेश खतिवडाले अहिलेसम्म मोरङका प्रत्येक पालिकामा कम्तिमा ५० वटा टोल कमिटी गठन भइसकेको बताउनु भयो । उहाँले प्रत्येक वडामा कम्तिमा ९ वटा टोल कमिटी गठन गर्ने गरि तयारी गरिएको जानकारी दिँदै सबै पालिकाबाट सकारत्मक प्रतिकृया आइरहेको बताउनु भयो । आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन र सबै पालिकामा जीत हासिल गर्ने आधारहरु तयार भएको उनको दावी छ । उहाँले भन्नुभयो अहिलेसम्मको प्रगति विवरण सबै पालिकाका अध्यक्ष र सचिवसँग लिएको छ । माहोल हेर्दा हामी पहिलो शक्ति हुन्छौँ भन्ने जोश जाँगर सबै तहका नेतृत्वमा देखिएको छ । परिस्थिति एमाले पहिलो शक्ति हुने खालको देखिएको छ ।

यस्तै आगामी २५ फागुनमा मोरङको रंगेलीमा तराई मधेश केन्द्रीत वृहत आमसभा गरिने जानकारी दिँदै सचिव खतिवडाले सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली आउने जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५ हजार बढी एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । यस्तै सो सभामा ५० हजार बढी सर्वसाधारण भेला हुने उहाँले बताउनु भयो ।

Back to top button