आज ग्याल्पो ल्होसार, सार्वजनिक विदा

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी मनाइँदैछ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो। समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाताहरुले बताएका छन् ।

ग्याल्पो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन्।

यो समुदाय बौद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिने चलन छ । जसलाई लामा ‘ल्होसार’ भनिन्छ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा–मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ।

तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल पूजा गरिन्छ । जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ। पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन्।

सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा आज मुलुकभर सार्वजनिक बिदा दिएको छ। यही फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले हिजो सूचना जारी गर्दै जनाएको छ ।

Back to top button