ग्याल्पो ल्होसारको राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ ।

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै उहाँले शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग भएको उल्लेख गर्नुभएको छ ।

ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीद्धारा जारी सन्देशमा उल्लेख छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अल्पसंख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं संवर्द्धन गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

ग्याल्बो ल्होसारकै अवसरमा शुभकामना दिँदै उहाँले हाम्रा अनेकन चाँडपर्व र धर्मसंस्कृतिले सवैलाई एकताको सुत्रमा बाध्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

उहाँले ग्याल्पो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

Back to top button