राष्ट्रिय सभाका २० सांसदको पदावधि आज देखि सकिदै

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आजदेखि सकिएको छ।

नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको हो।

निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि आजसम्म थियो।

यसबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन्।
गत माघ १२ मा भएको निर्वाचनबाट सत्तारूढ गठबन्धनका पाँच दलबाट १८ जना र नेकपा एमालेबाट १ गरी १९ सांसद निर्वाचित भएका थिए।

निर्वाचित नयाँ सांसदलाई शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा सपथ खुवाउने कार्यक्रम तय भएको छ।

नेपाली कांग्रेसबाट छ, नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट पाँच, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका थिए।

Back to top button