प्रहरी हुँ भन्दै लुटने ८ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा ८ जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका–५ ठेगाना भएका २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौं स्वयम्भू बस्ने धादिङ धुनिबेशी नगरपालिका–३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्‍याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका–२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ झलारी ठेगाना भएका २७ वर्षीय सुवास रतोकी, काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका–८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भवीन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका–५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जीवन भन्ने योगेन्द्रबहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्यूठान गौमुखी गाउँपालिका–६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगीत थापा भन्ने कमल सुनार रहेका छन्।

उक्त फार्मेसीका सञ्चालकलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अवैध औषधि बिक्री वितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनी फागुन १२ गते साँझ नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५ सय रुपैयाँ गरी जम्मा ६५ हजार रुपैयाँ जबरजस्ती लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै, उनीहरूका साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गर्नुका साथै प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

Back to top button