अफगान लगानीकर्ताहरू स्वदेश फर्कनहुन तालिबानको आग्रह

काठमाडौं । अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

उहाँले हिजो काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा उक्त आह्वान गर्नुभएको हो । ‘लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ’, उहाँले भन्नुभयो ‘अन्तरराष्ट्रिय नाकाबन्दी दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ।’

मंगलबार विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको छ। गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि उक्त रकम फ्रिज गरिएको द अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ।

डिएबीले विश्वबैंकको यो कदमलाई सद्भावनाको रूपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ।

Back to top button