माओवादी केन्द्रको अबका केहि दिनमा सकिन्छः ओली

बिर्तामोड । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अबका केहि दिनमा सकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको प्रथम प्रदेश १ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमसीसी संसदबाट पारित भइसकेपछि प्रचण्डले दिएको प्रतिक्रियालाई लक्षित गर्दै यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर, प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनू, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौं।’

प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकिरहेको भन्दै आलोचना गर्नुभयो ।

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको भन्दै ओलीले भन्नुभयो, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

ओलीले माओवादी केन्द्रलाई मात्र नभएर एकीकृत समाजवादीप्रति पनि कटाक्ष गर्नुभयो ।  ‘माधव नेपालको पार्टी त बनेकै छैन, बन्दै नबनी सकिन्छ’ ओलीले भन्नुभयो ।

उहाँले आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट कसैको नरहेको समेत बताउनुभयो । लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले समेत दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको बताउनुभयो ।

यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो ।

कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् भन्दै उहाँले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी राख्दा हुन्छ ।’

प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल, नारायण श्रेष्ठको सालिकमा माल्यार्पणसमेत गर्नुभएको थियो ।

Back to top button