झापा गोल्डकपमा आज पुलिस र संकटा क्लव भिड्दै

बिर्तामोड । झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।

यसअघि हिजो सम्पन्न खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।

झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी छन् । गोल्डकपमा दुई भारतीय टिम एमएफसी दार्जिलिङ र आरपी एफसी सिक्किम पनि सहभागी छन्।

गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ।

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रूपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ पाउनेछन्।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रूपैयाँ पाउने गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभएको छ ।

Back to top button