स्थानीयतहको निर्वाचन सार्ने विषयमा छलफल भइरहेको छः नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनाव सार्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएकाले विघटन गरेर प्याकेजमा तीन तहको चुनावमा जानुपर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डा रोक्नका लागि संसदको अर्ली इलेक्सन आवश्यक भएको जिकिर गर्नुभयो ।

संसदबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भन्नुभयो, ‘हाउस चल्न पनि नदिने। केही गतिविधि गर्न पनि नदिने। हाउसलाई पङ्गु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने। त्यस्तो हो भने अब भंग गरिदिने। न संसद रहन्छ। न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने।’

उहाँले सञ्चारकर्मीहरुको जिज्ञासामा वैशाखको चुनाव सार्ने कुरा भइरहेको बताउनुभएको हो । नेपालसहित १४ सांसदको कारबाहीलाई पूर्णता दिनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने मागसहित एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ। एमाले विभाजनमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको एमालेको आरोप छ।

Back to top button