सर्लाहीको राजमार्गछेउमा बेवारिसे शव फेला

सर्लाही । सर्लाहीको रानीगन्जमा आज मध्यान्ह पूर्व–पश्चिम राजमार्गछेउ शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ। लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर पुलको पूर्वतर्फ नाम, वतन खुल्न नसकेको पुरुषको शव फेला परेको हो।

पूर्व–पश्चिम राजमार्गको छेउमै सडकको उत्तरतर्फ फेला परेको शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

यस्तै, पूर्व–पश्चिम राजमार्गमा हिँडेका मानिसले शव देखेपछि प्रहरीमा खबर गरेका थिए। मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्लाबाट फरेन्सिक टोली र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाइएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताउनुभयो ।

शंकास्पद भएकाले जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई पनि घटनास्थलमा आइपुगेका छन्।

Back to top button