प्रधानमन्त्रीद्धारा राष्ट्रपतिसामु दुई प्रतिवेदन पेश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रधानमन्त्रीले एउटा सरकारको काम र उपलब्धि बारेको प्रतिवेदन र अर्को राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार देउवाले संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहनुभएका देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Back to top button