संकटा क्वाटर फाइनलमा प्रवेश

बिर्तामोड । संकटा क्लब काठमाडौँ झापा गोल्ड कपको पाँचौँ संस्करणमा क्वार्टर फाइनल प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । राईले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्न सफल भएका हुन् ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो । खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

२६ औँ मिनेटमा सौजन राईको फ्रि–किक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए । ५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो ।

त्यस्तै, १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रि–किक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए । २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।

आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित हुँदै नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईंले प्रतियोगिताभर गरेका छन् ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत भोलीको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताउनुभएको छ । एपिएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटो जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

Back to top button