युक्रेनमाथि रुसको आक्रमणः निशानामा सर्वसाधारण

रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो ।

एक अन्तर्वार्ताको क्रममा उहाँले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताउनुभएको छ । रुसले सर्वसाधारणलाई विभाजित गर्न गम्भीर निशाना बनाइरहेको उहाँको भनाई छ ।

रुसले गरेको गोलाबारीका कारण आइतबार एक परिवारका चारजनाको मृत्यु भयो । युद्ध जारीरहेको इर्पिनबाट सुरक्षित स्थानमा जाने क्रममा उनीहरुको मृत्यु भएको हो ।

रुसकै आक्रमणका कारण तटीय शहर मारिपोलमा उद्धारको काम रोकिएको छ । सो शहर विगत पाँच दिनदेखि पानी, बिजुली तथा सरसफाइ जस्ता सेवाबाट बञ्चित भएको छ । खानेकुरा र पिउने पानीको पनि अभाव रहेको छ ।

आइतबार संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगले दिएको जानकारी अनुसार रुसको आक्रमणका कारण कम्तीमा २६४ सर्वसाधारणको मृत्यु भएको छ । यस्तै कम्तीमा १५ लाख युक्रेनीले देश छोडिसकेका छन् ।

लगातार सर्वसाधारण निशानामा आएर उनीहरु मारिँदा पनि रुसले आफूले सैनिकहरुलाई मात्र आक्रमण गरेको दाबी गर्दै आएको छ । रुसले स्थल तथा आकाशबाट आतंककारी आक्रमण गरिरहेको उपप्रधानमन्त्री स्तेफानिशिनाले बताउनुभएको छ ।

उहाँले प्रतिकार गर्ने क्रममा रुसले ठूलो मात्रामा सैन्य क्षति बेहोर्नु परेको दाबी गर्नुभएको छ ।यद्यपि रुसले आफ्नो तर्फ भएको सैन्य हताहतीको कुनै जानकारी दिएको छैन ।

राजधानी किएभ नजिकैको इर्पिन शहरबाट सुरक्षित स्थानमा जाने प्रयासमा रहेका सर्वसाधारण आइतबार रुसी मोटार आक्रमणको निशानामा परेका छन् । सो आक्रमणमा एकै परिवारका कम्तीमा चारजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा आमाबुवा र उनका दुई सन्तान छन् । सुरक्षित स्थान तर्फ जान लागेकाहरुमाथि मोटार आक्रमण भएको हो । कम्तीमा चारजनाको फुटपाथमै मृत्यु भएको छ ।

गएको शनिबारदेखि भत्किएको इर्पिन नदीको पुल वरपर हजारौँ त्रस्त सर्वसाधारण जम्मा भएका छन् । राजधानी किएभ तर्फ आउँदै गरेका रुसी सैनिकलाई रोक्नका लागि युक्रेनी सैनिकले पुल भत्काएका थिए ।

सर्वसाधारणलाई सो पुल हुँदै सुरक्षित स्थानमा जान सहयोग गर्न त्यहाँ युक्रेनी सैनिक थिए । तर रुसले सर्वसाधारणको भीडलाई नै निशाना बनाएको हो । रुसले दुईवटा मोटार वा तोप प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Back to top button