
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाही हुने बताउनुभएको छ ।
आज सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य पाइएको भन्दै पटकपटक ध्यानाकर्षण गराए पनि अटेरी गरेकाले कारबाहीको बिकल्प नभएको बताउनुभयो ।
उहाँले छात्रावास उचित भएपनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताउनुभयो। उहाँले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरुलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने बताउनुभयो ।
त्यस्तै, आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विद्यार्थीको विषय भनेको रकमको नभई जीवन रक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताउनुभयो । उहाँले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरुसँग पैसा असुलीरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गर्नुभयो।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरुले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरुको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरुबाट धेरै पैसा असुलेको कुरा प्रष्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना बिशंखेले विद्यार्थीहरु नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भनेर हरेस खाइसकेको भन्दै अर्को स्थान सुरक्षित गर्नुपर्ने बताउनुभयो ।
नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थीहरुले कलेजमा सुरक्षामा थ्रेट रहेको भन्दै काठमाडौंको माइतीघरमा रिले अनशनमा छन्।
उनीहरुले कलेज स्थानान्तरणको माग सम्बोधन नभएको कारण गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन्।