प्रदेश नम्बर १ को पर्यटन प्रवर्धन गर्न नेपालका पर्यटन व्यवसायी भारतमा

विराटनगर । सुनसरीको धरानमा आयोजना हुने हुने इष्ट टुरिजम मार्ट २०२२ लाई प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बंगाल र बिहारतर्फ प्रस्थान गरेको छ ।

सिलिगुडीमा शनिबारदेखी तीन दिनसम्म आयोजना हुने बंगाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरूले पूर्वको पर्यटन प्रवर्धन गर्न पुगेका छन् । सो मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन व्यवसायीहरू सहभागी भएका छन् । मार्टमा नेपाल पर्यटन बोर्डले नेपाली व्यवसायीहरूका लागि स्टल उपलव्ध गराएको थियो ।

बंगाल ट्राभल मार्टमा भएको सहभागिताले पूर्वी नेपालको प्रवर्धनमा प्रभाव परेको इष्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले बताउनु भयो । बंगाल ट्राभल मार्टमा पूर्वी नेपालका मुख्य ग्राहकहरू हुनसक्ने बंगाल सिक्किम र उडिसाका ट्राभल एजेन्टहरू संगको प्रवर्धनले आफूहरू उत्साहित भएको श्रेष्ठले जानकारी दिनुभएको छ ।

बंगाल ट्राभल मार्टमा सहभागी भएको सो टोली इष्ट टुरिजम मार्टको प्रचार प्रवर्धन गर्न बिहारको किशनगञ्ज पूर्णिया कटिहार र दरभंगा जाने भएको छ । बिहारका ती स्थानहरूमा गएर त्यहाका व्यवसायीहरूलाई मार्टको निम्तो दिने र पूर्वको प्रवर्धन गरिने नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का प्रदेश अध्यक्ष उदय श्रेष्ठले बताउनुभयो ।

इष्ट टुरिजम मार्ट २०२२ आगामी चैत ११, १२ र १३ गते धरानमा हुन लागेको छ । मार्टको यो तेस्रो संस्करण हो । सन् २०१८ र २०१९ मा आयोजना भएको मार्ट कोरोनाका कारण बीचका वर्षमा आयोजना हुन सकेको थिएन । कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसाय मार्ट जस्ता क्रियाकलापले गति लिन सक्ने संयोजक श्रेष्ठका भनाई छ ।

बंगाल र बिहार भ्रमण कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गरेको हो । यस्ता कार्यक्रमले व्यवसायीहरूमा उर्जा संचार हुने र उत्साह बढ्ने बोर्डका प्रवन्धक उदय भट्टराईले बताउनुभयो

Back to top button