एमाले गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

अध्यक्ष क्षेत्रीलाई हिजो प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभएको हो । अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

क्षेत्री एमाले छाडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा हुनुहुन्थ्यो, तर‚ कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सांसदको टिकट दिने आश्वासन दिएपछि उहाँ कांग्रेसमा प्रवेश गरेको उहाँ निकटस्थहरू बताउँछन्।

उहाँ एमाले विभाजनअघि माधव नेपाल निकट मानिनुहुन्थ्यो, तर पार्टी विभाजनपछि १० बुँदे सहमति गरेर जिल्ला अध्यक्ष हत्याउने दाउमा बस्नुभएको थियो। जिल्ला अध्यक्ष बन्न नपाएपछि क्षेत्री कांग्रेस प्रवेश गरेको जानकारहरू बताउँछन्।

‘कम्युनिष्ट पार्टी जनताको चाहनाअनुसार काम गर्न सकेन। तर, जनताको लागि काम गर्छु भनेर विजयी भएपछि कार्यकाल पूरा गर्नुपर्ने मेरो दायित्व थियो‚’ कांग्रेस प्रवेशपछि उहाँले भन्नुभयो, ‘एमाले मन नपरेपछि अर्को पार्टी रोज्न पाउनु मेरो स्वतन्त्रता हो।’

अब कांग्रेसको, नीति सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्‍याउन लाग्ने उहाँको भनाइ छ।

Back to top button