मोरङ । मोरङको रंगेली नगरपालिकाका मेयर दीलिप बगडियालाई पदबाट हटाउन नेकपा माओवादी केन्द्र प्रदेश १ ले निर्वाचन आयोगलाई सिफारिस गरेको छ।
स्थानीय तहको निर्वाचनमा माओवादीबाट मेयरमा निर्वाचित बगडिया एमालेमा प्रवेश गर्ने भएपछि पदबाट हटाउन आयोगमा सिफारिस गरिएको माओवादी नेताले बताएका छन्। तर माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ती जारी गर्दै मेयर बगडियाले पार्टी हित विपरित कार्य गरेर व्यवसायिक हितमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
मेयर बगडियाले पार्टी हित विपरित कार्य गरेको हुँदा कारवाहीका लागि सिफारिस गरिएको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी भएर जिम्मेवारी सम्हालेका बगडियालाई यसअघि फागुन १५ देखि लागु हुनेगरी पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको उहाँले बताउनुभयो ।
भोलि बगडिया रंगेलीमा आयोजना हुने बृहत आमसभाबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । त्यस आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने तय भएको मोरङ जिल्ला पार्टी कार्यालयले जनाएको छ।