
विराटनगर । मोरङ व्यापार संघले अन्तराष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।आउँदो चैत १८ गतेदेखि २६ गतेसम्म आयोजना गरीने पत्रकार सम्मेलनमा जनाइएको छ । कोरोना महामारीको पछिको सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रुपमा मेला संचालन हुन लागेको व्यापार संघले जनाएको छ ।
मेलालाई ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को नाम दिइएको छ । मेलामा नयाँ र विद्यमान उत्पादन सेवाहरु, स्वदेशी उत्पादनहरु, विक्री गर्न र व्यापार तथा लगानीको सम्भावनाबारे छलफल गर्ने संघका अध्यक्ष नविन रिजालले बताउनु भयो ।
मेलामा जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङ लगायतका साहसिक खेलकुदको अनुभव प्रदान गरिने व्यापार संघका उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक विकास कुमार बेगवानीले बताउनु भयो ।
उहाँका अनुसार मेलामा एसीसहितको ८० वटा स्टल, कुलरसहितका ६० स्टल, साधारण १०६ वटा, अटोस्टल २५ वटा तथा खाद्यान्न स्टल १० वटा हुनेछ । आयोजकले एसी स्टल राख्नेलाई ६० हजार, कुलर स्टललाई ४० हजार, साधारण स्टललाई ३० हजार, अटो स्टललाई ७० हजार र खाद्यान्न स्टललाई ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
मेलामा ४ लाख बढीले अवलोकन गर्ने र ४५ करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।