झापा गोल्ड कपमा संकटा सेमिफाइनलमा प्रवेश

विर्तामोड । संकटा क्लब पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गर्नुभएको थियो । खेलको २५औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६३औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थप्नुभएको थियो ।

थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा ऋतिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाई दिनु भएको थियो । खेलको ३६औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरिएको थियो ।

४६औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए । खेलको ७०औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गगर्नुभएको थियो । ७५औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की हुनु भएको छ । उहाँले नगद ९ हजार ९९९ रुपैयाँ पाउनु भएको छ ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताउनुभयो ।

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकले जनाएको छ ।

Back to top button